समर्थकसँग जितको खुसी साट्दै नेपाली क्रिकेटरहरु । तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर
अनलाइनखबरले नेपालले खेल्ने चारवटै खेलको प्रत्यक्ष अपडेट गर्नेछ ।
त्रिकोणात्मक शृंखलाअन्तर्गत नेपालको दोस्रो खेल शुक्रबार हुनेछ । त्रिवि मैदानमा शुक्रबार हुने खेलमा नेपालले लिग टूमा शीर्ष स्थानमा रहेको स्कटल्याण्डको सामना गर्नेछ ।
एकदिवशीय मान्यता पाएका सात एशोसिएट टिमबीच सन् २०१९ देखि सुरु भएको लिग टू शृंखलामा नेपालले २५ खेल खेल्दा यो नवौं जित निकालेको हो । नेपालले यो शृंखलामा २० अंक जोडेको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डसमेत सहभागी त्रिकोणात्मक शृंखलाको पहिलो खेल नेपालले जितेको छ । लिग टूमा नेपालले नामिवियालाई हराएको यो पहिलोपल्ट हो । यसअघिका चारमध्ये तीन खेल नेपालले हारेको थियो भने एक खेल वर्षाका कारण रद्ध हुँदा अंक बाँडेको थियो ।
नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन चेजको जित निकालेको हो । नेपालले यसअघि सन् २०१९ मा यूएईसँगको एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा २५५ रनको लक्ष्य पूरा गरेको थियो । त्यस्तै नामिवियाविरुद्ध बनाएको २८७ रन नेपालले एकदिवशीय क्रिकेटमा बनाएको उच्च योगफलसमेत हो ।
२८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले ११५ रनको शतकीय साझेदारी गरे । कुशलले कप्तान रोहितकुमार पौडेलसँग मिलेर १३३ रनको कीर्तिमानी साझेदारीसमेत गरे ।
४७.४ ओभरः सोमपाल कामीले चौका प्रहार गर्दै नेपाललाई कीर्तिमानी जित दिलाएका छन् ।
४७.३ ओभरः नेपालले आठौं विकेट गुमाएको छ । जितका लागि ३ रन आवश्यक हुँदा नेपालले लगातार बलमा विकेट गुमाएको छ । लफ्टी इटनको बलमा सन्दीप लामिछाने पहिलो बलमै क्याचआउट भएका हुन् ।
४७.२ ओभरः नेपालका लागि शतकीय पारी खेलेर कुशल भुर्तेल आउट भएका छन् । कुशलले ११२ बलमा १० चौका र ४ छक्कासहित ११५ रन बनाए ।